काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपालका विकास रणनीति र समकालीन नीति बहसमा विश्वभर छरिएर रहेका नेपाली विद्यावारिधि (पीएचडी) विज्ञहरूको ज्ञान, अनुसन्धान र अनुभवलाई एकीकृत गर्ने उद्देश्यले ‘विश्व नेपाली विद्यावारिधि संघ’ (डब्लुएनपीएचडिए) को स्थापना गरेको छ । इन्स अन्तर्गतको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र (आईएनटीटी) सँग समान्तर रूपमा सञ्चालनमा आएको यस संस्थाको नेतृत्व डा. मित्र परियारले गर्ने हुनुभएकाे छ ।
डा. मित्र परियार अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक तथा सामाजिक मानवशास्त्रमा एमफिल गर्नुभएकाे विद्वान् हुनुहुन्छ । उहाँले गोर्खा आप्रवासी र जातीयता सम्बन्धी गहिरो अध्ययन गर्नुभएकाे छ । त्यसपछि उहाँले अष्ट्रेलियाको म्याक्वेरी विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि (पीएचडी) गर्नुभएकाे छ । बेलायतस्थित गोर्खा समुदायमा जातप्रथाको अनुभवमाथि उहाँको अनुसन्धान चर्चित छ ।
डा. परियारले सेन्ट जेभियर्स कलेजबाट सामाजिक कार्यमा स्नातक गर्नुभएकाे हाे भने गण्डकी बोर्डिङ स्कूलबाट माध्यमिक शिक्षा र गोरखास्थित गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएकाे हाे । उहाँले जात, आप्रवासन, शिक्षा र सामाजिक न्यायका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएकाे छ ।
सामाजिक न्यायका सवालमा डा. परियार एक प्रखर दलित अधिकारकर्मीसमेत हाे । उहाँले सञ्चालन गरेको ‘दलितहरू नेपालमा: एक अनुसन्धान अध्ययन’ परियोजनाले नेपालका दुर्गम क्षेत्रमा जातीय हिंसाका विषयमा पत्रकारिता, अन्तर्वार्ता र मल्टिमिडिया दस्तावेजमार्फत काम गर्दै आएको छ ।
उहाँको ‘के उनीहरू जातबाट मुक्त छन्? नेपाली दलितहरूको इसाई धर्मतिर परिवर्तन’ शीर्षकको सन् २०१९ मा भारतीय प्रविधि संस्थान बम्बैमा प्रस्तुत गरिएको शोधपत्र जातीय तुलनात्मक अध्ययनमा महत्त्वपूर्ण मानिन्छ । उहाँ सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा पनि जात, धर्म र संरचनात्मक सुधारका विषयमा निरन्तर धारणा राख्दै आउनुभएकाे छ ।
संस्थाको उद्देश्यबारे डा. परियारले भन्नुभयाे, “नेपालमा ज्ञानमा आधारित समाज निर्माण गर्न, उत्कृष्ट विश्वविद्यालय, छात्रवृत्ति र अनुसन्धानबाट उत्पन्न उच्च गुणस्तरका विद्यावारिधिहरूको संख्या बढाउनु आवश्यक छ । समावेशी समृद्धि, समानता र न्याय प्राप्त गर्न, अनुसन्धान र चिन्तनलाई व्यावहारिक रणनीतिमा अनुवाद गर्नु जरुरी छ । विश्व नेपाली विद्यावारिधि संघको स्थापना त्यसै दिशातर्फको सार्थक पाइला हो ।”
इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले भन्नुभयाे, “इन्स अन्तर्गत विश्व नेपाली विद्यावारिधि संघको स्थापना विद्यावारिधि अभ्यर्थीहरूलाई सहयोग गर्ने, विश्वभर छरिएका नेपाली विद्यावारिधि विज्ञहरूलाई जोड्ने, र उनीहरूको सीप र ज्ञानलाई नेपालको नीति निर्माण र विकासको पक्षमा परिचालित गर्ने उद्देश्यले गरिएको दूरदर्शी पहल हो । शैक्षिक सम्मेलन, लेखन कार्यशाला, बौद्धिक संवाद र अनुसन्धान प्रवर्द्धनमार्फत यो संस्थाले प्रभावकारी योगदान दिनेछ ।”
अध्यक्ष घिमिरेले इन्स हाल ८३ देशमा सक्रिय रहेको र एक सय २३ देशसम्म यसको सञ्जाल विस्तार भइसकेको जानकारी दिनुभयाे । उहाँले शिक्षा, स्वास्थ्य, आपतकालीन उद्धार, नीति संवाद, नेतृत्व विकास र सामाजिक न्यायका क्षेत्रमा इन्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयाे ।